Skip to main content

Ramesh Nepal

लामो समयपछि आज विश्वले एकसाथ ध्यान गर्दैछ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेसँगै विश्वभरका नागरिकले आजको दिन ध्यान गर्न लागेका हुन्। तनाव, चिन्ता, आक्रोशजस्ता मानसिक समस्याले विश्वका मानिस समस्यामा छन्। यी सबै समस्याको समाधान ध्यानमा छ।

संयुक्त राष्ट्रसंघले यो कुराको महसुस गरी विश्वका नागरिकलाई ध्यान गर्न अभिप्रेरित गर्ने उद्देश्यले ध्यान दिवसको घोषणा गर्‍यो। यो हामी र हाम्रो देशका लागि झनै खुसीको कुरा हो। मानिसलाई ध्यान सिकाउनकै लागि जीवन सुम्पनेहरूका लागि त यो महाउत्सव नै हो।

राष्ट्रसंघले ध्यान दिवस मनाउने घोषणा त गर्‍यो। तर ध्यान के हो ? ध्यान कसरी गर्ने ? धेरैलाई अन्योल छ। कसैले आँखा चिम्लेर मौन बस्नुलाई नै ध्यान भन्छन् भने कसैले आफूतर्फ फर्कनुलाई नै ध्यान मानेका छन्।

ध्यान के हो ?

शून्यता, पूर्णता, समग्रता, आत्मज्ञान, परमात्माज्ञानको अभ्यास र बोध गर्नुमात्र हैन, ध्यानको अर्थ आत्मानुशासनको एक युक्ति पनि हो। जसको प्रयोजन तनावशून्यता, मानसिक स्थिरता, मानसिक शान्ति मानसिक सन्तुलन, एकाग्रता, धीरता, गतिशीलता, सहनशीलता, स्वजागरण र स्व–अनुशासन हो।

ध्यानको उद्देश्य चेतनाको जागरण मात्र नभएर चेतनाले जान्न सकिने सम्पूर्ण अवयवहरूलाई परिष्कृत, अनुशासित, लयबद्ध सहज र सरल बनाउनु हो। जसद्वारा व्यक्ति परिवार समाज राष्ट्र र विश्व मानवको कल्याण अवश्यम्भावी छ। ध्यान प्रत्येक व्यक्तिभित्र अन्तर्निहित चेतना हो। त्यसकारण ध्यान जात, धर्म, लिंग, सिद्धान्त, विचार, मान्यता, धारणा र भूगोलभन्दा माथि सबैको र सबैका लागि हो।
व्यक्तिले न आफूसँग, न परिवार न त समाजसँगै राम्रो सम्बन्ध राख्न सकेको छ। सम्बन्धमा जहाँ गडबडी आउँछ, त्यहाँबाट मानसिक समस्या सुरु हुन्छ। मानसिक समस्या शारीरिक समस्या हुँदा पनि उत्पन्न हुन्छ। जुन नगण्य रूपमा छ। किनभने शरीरमा जतिसुकै समस्या भए पनि आफूलाई माया गर्ने व्यक्ति वरिपरि भइदिए त्यस्तो अवस्थामा उसले त्यो अनुभव नै गर्दैन। त्यो प्रेमले जितेको अवस्था हो र त ऊ सकारात्मक भइहाल्छ। तर व्यक्तिको समस्याको मूल कारण सम्बन्धमै देखिन्छ। सम्बन्धका तीन आयाम हुन्छन्। एउटा, मान्छेले आफैंसँगको सम्बन्ध बिगार्‍यो अर्थात् आफैंसँग कस्तो सम्बन्ध राख्ने त्यो थाहा भएन। अर्को, परिवारसँग कस्तो सम्बन्ध राख्ने पनि ज्ञान भएन। तेस्रो, समाज अथवा कर्म क्षेत्र र प्रकृति इत्यादिसँग कस्तो सम्बन्ध राख्ने भन्ने पनि ज्ञान भएको पाइँदैन। सम्बन्ध बिग्रिएपछि मानसिक समस्या सुरु हुन्छ।

अहिलेको परिवारलाई हेर्नुहोस्, बाबुआमा आआफ्नै धुनमा व्यस्त छन्। सन्तानका लागि अभिभावकसँग समय छैन। कतिपयलाई लागेको छ– ‘पैसा भए पुग्छ, दिएकै छु तर मसँग समय छैन। पत्नी वा छोराछोरीलाई यति धेरै खर्च गरेको छु, योभन्दा कति गरौं ?’ पैसालाई प्राथमिकतामा राख्यौं। भावनालाई आझेलमा पार्‍यौं। यसकारण बालबालिकादेखि नै मानसिक समस्या तीव्र गतिमा बढेको छ। विद्यालयमा पढाइ भारी छ, गृहकार्य पनि दिएको हुन्छ। घरबाट पनि उसमाथि उत्तिकै अपेक्षा हुन्छ। समस्या बुझिदिने र समाधान गरिदिने कोही हुँदैन। बोझैबोझले सानैदेखि उनीहरूको मानसिकतामा समस्या पर्ने स्थिति छर्लंग छ।

ध्यान कसरी र कहाँ गर्ने ?

सामान्यतया एकाग्रता हुँदै ध्यानमा पुग्न सकिन्छ। कुनै विषयमा केन्द्रित रहनु जस्तै: श्वासको याद गर्नु, आफ्नो वरपरको वातावरणको याद गर्नु, वर्तमान क्षणको याद गर्नु, शरीरमा भइरहेको परिवर्तनको महसुस गर्नु। यी मनलाई एकाग्र गर्ने विषय हुन्। यी ध्यानको पहिलो चरण हुन्। ध्यानको गहिरो अनुभवका लागि शरीर सञ्चालन गर्ने सूक्ष्म ऊर्जाका केन्द्रहरूको महसुस गर्नुपर्छ।

सात चक्रका रूपमा रहेका ती ऊर्जाका केन्द्रहरूमा केन्द्रित विधाहरूले ध्यानको गहिरो अनुभूति दिलाउँछ। ऋषिहरूले लामो खोज र अनुसन्धान गरेर चक्रमा केन्द्रित योगका विभिन्न विधा तथा विधिहरू निर्माण गरेका छन्। यिनलाई कर्मयोग, तन्त्रयोग, हठयोग, भक्तियोग, ज्ञानयोग, ध्यानयोग, सांख्ययोगका रूपमा प्रयोग गरिँदै आएको छ। जसले चक्रका आधारमा रहेर अर्थात् चक्र विज्ञानमा आधारित ध्यान गराउँछ। त्यस्ता व्यक्ति वा गुरुबाट ध्यानको गहिरो अनुभव लिने विधि पाउन सकिन्छ।

प्रत्येक व्यक्तिको अनुहार फरक भएजस्तै प्रत्येक व्यक्तिको स्वभाव पनि फरक छ। यौटै विधि सबै स्वभावका लागि अनकूल नहुन सक्छ। त्यसकारण विधिमा विविधता हुन्छ। विधि साधन हो, ध्यान साध्य हो। जुन विधिबाट ध्यान लागे पनि ध्यान लाग्यो पुगिहाल्यो नि। ध्यानका लागि विधि हो, विधिका लागि ध्यान हैन।

अहिले ध्यान गराउने धेरै संघसंस्ज्था छन्। जहाँ गएर ध्यान गरे पनि हुन्छ। संस्था जुन छाने पनि ध्यान चाहिँ गर्नुपर्‍यो। यसरी ध्यान गर्दा आफ्नो स्वभाव अनुकूलको विधि छनोट गर्नु पर्छ। सबै विधि सबैका लागि हैनन्। म मानिसहरूसँग पहिलो परिचयमा अक्सर सोध्ने गर्छु ध्यान गर्नु हुन्छ कि गर्नु हुन्न ? गर्छु भन्यो भने कहाँ गर्नु हुन्छ भनेर प्रश्न गर्दिन।

ध्यान गर्‍यो पुगिहाल्यो नि कहाँ गर्‍यो के मतलव ? तर स्वभाव अनाकुलको विधि चाहिँ अत्यावश्यक छ। हैन भने ध्यानको गहिरो अनुभूति कठिन हुनसक्छ। त्यसैले ध्यान कहाँ र कसरी गर्ने हैन, आफ्नो स्वभावका लागि उपयुक्त छ कि छैन, त्यो महत्वपूर्ण हो।

अन्त्यमा, ध्यान मानव जीवनका लागि वरदान हो। मानिसका सारा समस्या समाधानको साधन र उपकरण पनि हो ध्यान। मानवलाई महामानव बनाउने संसारमा कुनै चिज छ भने त्यो ध्यान हो। ध्यानबाट आफूलाई परिवर्तन गरी मानवका लागि योगदान गर्ने त्यस्ता महामानवलाई अहिले हामी भगवान् भनेर पूजा गर्छौं।

संयुक्त राष्ट्रसंघले अहिले आएर यो महसुस गर्नु र ध्यान दिवस मनाउने घोषणा गर्नु गर्वको कुरा हो। यसका लागि हामी सबैलाई बधाई र शुभकामना छ। वर्षमा एकदिन ध्यान दिवस मनाउने मात्र हैन, हरेक दिन ध्यान गरेर आफ्नो जीवनलाई रूपान्तरण गर्ने प्रेरणा आजको दिनले मिलोस्। सबैलाई ध्यानमय शुभकामना ! २०८१ पुस ६ गते अन्नपूर्णपाेष्टकाे फुर्सदमा प्रकाशित